Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing

भाग - १८ स्थानीय व्यवस्थापिका

भाग - १८

स्थानीय व्यवस्थापिका

२२१. स्थानीय तहको व्यवस्थापिकीय अधिकार:

(१) यस संविधानको अधीनमा रही स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहनेछ।

(२) गाउँ सभा र नगर सभाको व्यवस्थापिकीय अधिकार अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ।

२२२. गाउँ सभाको गठन:

(१) प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहनेछ।

(२) उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहनेछन्।

(३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ।

(४) संघीय कानून बमोजिम गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ।

त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ।

(५) अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ।

(६) देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ:

(क) नेपाली नागरिक, (ख) एक्काइस वर्ष उमेर पूरा भएको, (ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र (घ) कुनै कानूनले अयोग्य नभएको।

(७) गाउँ सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

२२३. नगर सभाको गठन:

(१) प्रत्येक नगरपालिकामा एक नगर सभा रहनेछ।

(२) उपधारा (१) बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिकाका सदस्य रहनेछन्।

(३) उपधारा (१) बमोजिम गठन हुने नगर सभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ।

(४) संघीय कानून बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्यहरू रहेको वडा समिति गठन हुनेछ।

त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ।

(५) अठार वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानून बमोजिम मतदान गर्ने अधिकार हुनेछ।

(६) देहायको योग्यता भएको व्यक्ति नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुनेछ:

(क) नेपाली नागरिक, (ख) एक्काइस वर्ष उमेर पूरा भएको, (ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र (घ) कुनै कानूनले अयोग्य नभएको।

(७) नगर सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ।

२२४. गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष:

गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार्य सम्पादन गर्नेछ।

२२५. गाउँ सभा र नगर सभाको कार्यकाल:

गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ।

त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ।

२२६. कानून बनाउन सक्ने:

(१) गाउँ सभा र नगर सभाले अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानून बनाउन सक्नेछ।

(२) उपधारा (१) बमोजिम कानून बनाउने प्रक्रिया प्रदेश कानून बमोजिम हुनेछ।

२२७. गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था:

गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ।

About Us

Loksewa Tayari - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Nepali Typing Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro
  • Verified Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2026 Loksewa Tayari. All rights reserved | Powered By Nep Tech Pal